मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मीन राशि हुनेहरूको लागि यो वर्ष शुभ नै रहनेछ । पद प्रतिष्ठा र आर्थिक पक्ष राम्रो हुनेछ । कुनै कुराले अनुहारमा कान्ति र मनमा शान्ति मिल्नेछ । आकस्मिक लाभ, सन्तान सुख, घरमा शुभकार्य हुने र धार्मिक यात्रा समेत हुनेछ । रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ । तर जन्म कुण्डलीमा शनि, बृहस्पति, राहु तथा केतु कमजोर हुनेहरूले भने दुख, कष्ट भोग्नुपर्ने, मानसिक चिन्ता, इज्जत र प्रतिष्ठामा ह्रास आउनसक्छ । शत्रु बढ्ने र अनावश्यक झमेलामा पर्न सकिनेछ ।
व्यापार/व्यवसाय
व्यापार वा व्यावसायिक दृष्टिले यो वर्ष आर्थिक धन फस्न सक्छ । वैदेशिक र शिक्षाक्षेत्रको कारोबारबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ, तर धातु, स्वास्थ्य र जग्गाजमिनको काममा भने विवाद बढ्न सक्छ । सेयर बजारमा पनि त्यति राम्रो नहोला । आर्थिक दृष्टिले जेठ, असोज र माघ महिना बढी सकारात्मक हुनसक्छ ।
प्रेम/सम्बन्ध
प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा मतभेद र विश्वासमा कमी देखिनसक्छ साथै प्रेम सम्बन्धलाई परिवारले समर्थन गर्न गाह्रै पर्ला । पैसाको कारणले आफन्त र नजिकका व्यक्तिबाट टाढिनु पर्ला । शुभ तथा माङ्गलिक कार्यले विग्रिएको पारिवारिक सम्बन्धलाई मजबुत बनाउनेछ । वर्षको अन्त्यमा भने प्रेम सम्बन्ध सुमधुर हुनेछ । सन्तानको रहर गर्नेहरूले सन्तान सुख मिल्ने सम्भावना पनि रहेको छ ।
शिक्षा
शिक्षाको लागि यो वर्ष सफल र फलदायी नै रहने भएकाले राम्रो नतिजा पाइनेछ । पढाईको सिलसिलामा विदेश जानेले राम्रो सफलता पाउनेछन् । शोध, चिकित्सा र आई. टी.का विद्यार्थीहरूलाई पढाईलेखईमा बढी सफलता मिल्ने देखिन्छ ।
पेशा/रोजगार
यो वर्ष नयाँ रोजगार वा व्यवसायको सुरुवात हुने राम्रो योग रहेको छ । जागिरेलाई सरुवा र बढुवाको सम्भावना पनि प्रबल छ, शनि राहु र केतुको कारणले विद्या र बुद्धिमा केही कमजोरी आउन सक्छ । वैदेशिक, राजनैतिक तथा कूटनैतिक क्षेत्रका व्यक्तिहरूलाई निकै राम्रो हुनेछ, तर अपजसको सामना भने गर्नुपर्ला ।
स्वास्थ्य
यो वर्ष चोटपटकको भय रहेको छ, हात गोडामा चोट लाग्न सक्छ । घरपरिवारको स्वास्थ्यमा पनि खर्च बढ्नेछ । शीर्षपीडाका साथै नशा सम्बन्धी समस्या बढ्ने भएकाले औषध उपचारमा खर्च बढ्नेछ । खानपानमा र यात्रा गर्दा बढी सतर्कता अपनाउन आवश्यक छ ।
शुभ रङ्ग
पहेँलो, हरियो, पर्पल, रातो र खैरो शुभ रङ्ग हो ।
शुभ अङ्क
१, ४, ८ र ९ शुभ अङ्क हो ।
दर्शन/पूजा/उपाय
प्रत्येक सोमबार शिवजीको दर्शन, पूजा, जप, पाठ र उपासना गर्नाले ग्रहपीडा कम हुनेछ र भाग्यमा वृद्धि हुनेछ । प्रत्येक दिन मातापिता तथा पितृ देवताको आशीर्वाद लिनाले र असहायलाई सहयोग गर्नाले ग्रहपिडा कम हुनेछ । वर, पिपल या अन्य वनस्पतिहरूको वृक्षारोपण गर्नाले पनि भाग्यमा वृद्धि हुनेछ । कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानु अघि शिवजीलाई स्मरण गर्नाले राम्रो हुनेछ ।